काठमाडौं । एक समय विश्वको सबैभन्दा छिटो बढ्दो घरजग्गा बजारमध्ये दुबई एउटा मानिन्थ्यो। अहिले दुबईले आफ्नो चमक गुमाउँदैछ ?
सामाजिक सञ्जालमा हालैका दाबीहरु र सम्पत्ति दलालहरुको बयानले लगानीकर्तामाझ हलचल मच्चाएको छ। गगनचुम्बी भवनहरु दुबईको पहिचान भए पनि बजारमा मन्दीको रिपोर्टले यो ‘गम्भीर संकट’को सामना गरिरहेकोमा छलफल सुरु गरेको छ।
दुबई हाल धेरैले ‘अस्तित्वगत संकट’ भनिरहेको कुराको सामना गरिरहेको छ। सामाजिक सञ्जालमा भाइरल पोस्टहरुले सहरको एक समयको बढ्दो घरजग्गा बजारले गति गुमाउँदै गएको दाबी गरेको छ। हालै एक घरजग्गा दलालले भारी छुटहरु दिँदा खरिदकर्ताहरुलाई आकर्षित गर्न असफल भएको बताए। सामाजिक सञ्जालमा यी बढ्दो छलफल र दाबीहरुले बजारको भविष्यका बारेमा महत्वपूर्ण चिन्ताहरु उठाएका छन्।
हालैका तथ्यांकहरुले दुबईको घरजग्गा बजारमा मन्दी स्पष्ट रुपमा संकेत गर्दछ। गत वर्षको सोही अवधिको तुलनामा सम्पत्ति कारोबारमा उल्लेखनीय गिरावट आएको छ। डीएक्सबी इन्टरएक्टिभको तथ्यांकअनुसार फेब्रुअरी २८ देखि मार्च २२ सम्म दुबईमा केवल ८ हजार १५७ वटा कारोबार भएका छन्। जुन गत वर्षको सोही अवधिमा १२ हजार १९६ लेनदेनको तुलनामा ३३ प्रतिशतले कमी हो। यद्यपि, सम्पत्तिको मूल्य धेरै हदसम्म स्थिर रहनु राहातको कुरा हो। जसले बजार कमजोर भएको तर पूर्ण रुपमा ध्वस्त नभएको संकेत गर्छ।
विज्ञहरु विश्वास गर्छन् कि यो गिरावट प्रत्यक्ष रुपमा विशेषगरी अमेरिका–इरान द्वन्द्वको क्षेत्रीय तनावसँग सम्बन्धित छ। युद्धले विश्वव्यापी लगानीकर्तामा अनिश्चितता बढाएको छ। जसले उनीहरुको आत्मविश्वासलाई प्रत्यक्ष असर पारेको छ र खरिदकर्ताहरुले अब कुनै पनि ठूलो लगानी गर्नुअघि बढी सावधानी अपनाइरहेका छन्। यो भूराजनीतिक अस्थिरताले बजारको गतिमा ब्रेक लगाएको छ। जुन विगत केही वर्षदेखि निरन्तर थियो।
यो अवस्थाले सामाजिक सञ्जालमा बहस सुरु गरेको छ। प्रयोगकर्ताको राय तीव्र रुपमा विभाजित छ। कोहीले यसलाई कोभिड–१९ को समयमा अनुभव गरिएको मन्दीसँग तुलना गरिरहेका छन्। जब सबै कुरा ठप्प भयो तर बजारले पछि शानदार पुनरागमन गर्यो। अरुले विश्वास गर्छन् कि मानिसहरु युद्ध र मन्दीजस्ता परिस्थितिमा अत्यधिक प्रतिक्रिया दिइरहेका छन्। तिनीहरुको तर्क छ कि इतिहास दोहोरिन्छ र बजार तुरुन्तै युद्धपूर्वको स्तरमा फर्कन नसक्ने भए पनि समयसँगै यो पुनः प्राप्ति हुनेछ। –एजेन्सी












