१. परिचय
जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि, हिमाली क्षेत्रमा हिमताल विस्फोट, अतिवृष्टि, बाढी, पहिरो, भूक्षय, नदी कटान, भूकम्प तथा अन्य प्राकृतिक विपद्का घटनाहरु पछिल्लो समयमा मानव जीवन, आर्थिक गतिविधि, पूर्वाधार र राष्ट्रिय विकासमा गम्भीर चुनौतीका रुपमा देखा परेका छन्। नेपालजस्तो भौगोलिक, तथा जलवायु विविधता भएको देशमा यस्ता विपद् जोखिमको प्रभाव अझ व्यापक र जटिल हुने गरेको छ।
नेपालको हिमाल, पहाड र तराईका भौगोलिक क्षेत्रहरुमा फरक–फरक प्रकृतिका विपद् जोखिम विद्यमान छन्। हिमाली क्षेत्रमा हिमताल विस्फोट तथा हिमपहिरो, पहाडी क्षेत्रमा पहिरो, भूक्षय, नदीजन्य बाढी र भूकम्प तथा तराईमा डुबान, नदी कटान र बाढीको जोखिम उच्च छ। जलवायु परिवर्तनले वर्षाको स्वरुप, तीव्रता र समयलाई असामान्य बनाउँदै परम्परागत जोखिम व्यवस्थापन प्रणालीलाई समेत चुनौती दिएको छ।
यस्ता विपद् हुँदा मानवीय क्षति मात्र नभई सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण लाइन, विमानस्थल, विद्यालय, अस्पताल, खानेपानी प्रणाली, सरकारी भवन तथा निजी सम्पत्तिमा ठूलो क्षति पुग्ने गरेको छ। विपद्पछि तत्काल राहत, उद्धार, पुनस्र्थापना र पुनर्निर्माणका लागि सरकारलाई ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आउँछ। यस्तो खर्च प्रायः वार्षिक बजेट, आन्तरिक ऋण, वैदेशिक सहायता, पुनः बजेट विनियोजन वा अन्य विकास कार्यक्रमको रकम कटौतीबाट व्यवस्थापन गरिन्छ।
यस प्रकारको परम्परागत व्यवस्थाले विपद् उत्पन्न भएपछि मात्र वित्तीय स्रोत जुटाउने भएकाले राज्यको आर्थिक स्थायित्व, विकास आयोजना कार्यान्वयन र दीर्घकालीन लगानीमा प्रतिकूल प्रभाव पार्न सक्छ।
त्यसैले विपद् घटाउने भौतिक उपायसँगै विपद्बाट हुन सक्ने आर्थिक क्षतिको पूर्वनिर्धारित बीमा, पुनर्बीमा तथा अन्तर्राष्ट्रिय जोखिम हस्तान्तरण प्रणाली विकास गर्नु आवश्यक छ। सरकारले जोखिमको पहिचान र मूल्यांकन गरी पूर्वनिर्धारित प्रिमियम भुक्तानी गर्ने तथा विपद् घट्नासाथ बीमा सम्झौताअनुसार क्लेम प्राप्त गर्ने प्रणाली स्थापना गर्न सकेमा विपद् व्यवस्थापनलाई बढी प्रभावकारी, पारदर्शी र वित्तीय रुपमा दिगो बनाउन सकिन्छ।
नेपालले अब विपद्पछिको खर्च जुटाउने परम्परागत अभ्यासबाट विपद् हुनुअघि नै वित्तीय सुरक्षा सुनिश्चित गर्ने प्रणालीतर्फ अघि बढ्नुपर्ने समय आएको छ।
२. नेपालको विपद् जोखिमको प्रकृति र आर्थिक प्रभाव
नेपालको विपद् जोखिम केवल प्राकृतिक घटना मात्र होइन; यो आर्थिक, सामाजिक, वित्तीय, वातावरणीय र विकाससँग प्रत्यक्ष सम्बन्धित विषय हो। देशको भौगोलिक अवस्थिति, कमजोर भूगर्भीय संरचना, अव्यवस्थित निर्माण, नदी किनार तथा पहिरो जोखिमयुक्त क्षेत्रमा बस्ती विस्तार, जलवायु परिवर्तन र पूर्वाधार विकासको प्रकृतिले विपद् जोखिमलाई थप बढाएको छ।
२.१ जलवायु परिवर्तन र नयाँ प्रकारका जोखिम
जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा छोटो समयमै हुने, लामो समयसम्म खडेरी रहने, तापक्रम बढ्ने, हिमनदी पग्लने तथा हिमतालको आकार र जोखिम बढ्नेजस्ता प्रभाव देखिन सक्छन्। यी परिवर्तनले नदी प।वाहमा अचानक पानीको बहाव वृद्धि गराउन सक्छ।
भोटेकोशी, सुनकोशी, मेलम्ची, कालीगण्डकी, त्रिशूली, मस्र्याङ्दी तथा अन्य नदी प्रणालीमा बाढी, पहिरो र नदी कटानको जोखिमलाई केवल स्थानीय समस्या मान्न सकिँदैन। यस्ता घटनाले एकै समयमा धेरै सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण लाइन, बस्ती र व्यापारिक गतिविधिमा क्षति पुर्याउन सक्छ।
२.२ भौतिक पूर्वाधारमा पर्ने क्षति
नेपालमा जलविद्युत् आयोजना, सडक तथा पुलहरु धेरैजसो नदी किनार, पहाडी खोँच, भिरालो जमिन र जोखिमयुक्त भौगोलिक क्षेत्रमा निर्माण गरिएका छन्। ती पूर्वाधारको जोखिममा निम्न प्रकारका क्षतिहरु पर्न सक्छन्।
- जलविद्युत् आयोजनाको बाँध, इन्टेक, हेडवक्र्स, सुरुङ, पेनस्टक तथा पावरहाउसमा क्षति।
- नदीमा निर्माण गरिएका पुल, सडक, तथा कल्भर्ट बगाउनु वा भत्किनु।
- नदी कटानका कारण सडकको जग तथा तटबन्ध कमजोर हुनु।
- विद्युत् प्रसारण लाइन, सबस्टेसन तथा वितरण प्रणालीमा क्षति।
- पहिरोबाट आयोजना स्थल, निर्माण सामग्री, उपकरण, मेसिनरी तथा कामदार शिविरमा क्षति।
- बाढीबाट औद्योगिक क्षेत्र, कृषि उत्पादन, पर्यटन, होटल तथा व्यापारिक प्रतिष्ठानमा क्षति।
- विद्यालय, अस्पताल, सरकारी कार्यालय, खानेपानी तथा सरसफाइ संरचनाको सेवा अवरुद्ध हुनु।
२.३ सरकारमाथि पर्ने वित्तीय दायित्व
विपद् हुँदा सरकारले राहत, उद्धार, अस्थायी आवास, खाद्यान्न, स्वास्थ्य सेवा, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि ठूलो रकम खर्च गर्नुपर्छ। सार्वजनिक संरचनाको क्षति भएमा पुनर्निर्माणमा वर्षौँ लाग्न सक्छ।
विपद् खर्चका कारणः
- विकास बजेट अन्य क्षेत्रमा खर्च गर्न नसकिने अवस्था आउन सक्छ।
- नयाँ आयोजना निर्माण तथा पुराना आयोजनाको स्तरोन्नति प्रभावित हुन सक्छ।
- सरकारी ऋण तथा वित्तीय घाटा बढ्न सक्छ।
- स्थानीय, प्रदेश तथा संघीय सरकारको वित्तीय क्षमता कमजोर हुन सक्छ।
- निजी क्षेत्र तथा बैंकिङ क्षेत्रको कर्जा जोखिम बढ्न सक्छ।
- प्रभावित नागरिकको रोजगारी, आय तथा जीवनस्तरमा गिरावट आउन सक्छ।
३. विपद् जोखिम बीमा र अन्तर्राष्ट्रिय जोखिम हस्तान्तरणको अवस्था
विपद् जोखिम बीमा भनेको कुनै प्राकृतिक वा जलवायुजन्य घटना हुँदा त्यसबाट उत्पन्न आर्थिक क्षतिको निश्चित अंश वा सम्झौताअनुसारको रकम बीमा कम्पनी वा जोखिम वहन गर्ने संस्थाबाट प्राप्त गर्ने वित्तीय सुरक्षा प्रणाली हो।
सरकार, निजी क्षेत्र, जलविद्युत् आयोजना, सार्वजनिक संस्थान, स्थानीय तह तथा समुदायले आफ्नो सम्पत्ति र सम्भावित आर्थिक दायित्वको बीमा गर्न सक्छन्।
३.१ जोखिम हस्तान्तरण (रिस्क ट्रान्सफर)
जोखिम हस्तान्तरण भनेको आफ्नो जोखिम अर्को व्यक्ति वा संस्थालाई सुम्पनु हो। यसले जोखिमबाट हुने आर्थिक नोक्सानी कम गर्न मद्दत गर्छ।
कुनै व्यक्ति, संस्था वा सरकारसँग रहेको ठूलो आर्थिक जोखिमको केही भाग वा निश्चित सीमा बीमा कम्पनी वा पुनर्बीमा कम्पनी लागि हस्तान्तरण गर्न सकिन्छ।
उदाहरणका लागि– कुनै जलविद्युत् आयोजनाको सम्भावित बाढी क्षति ५ अर्ब रुपैयाँ हुन सक्छ। आयोजना आफैँले सम्पूर्ण जोखिम वहन गर्नुको सट्टा बीमा कम्पनीसँग बीमा सम्झौता गरी निश्चित प्रिमियम तिरेमा क्षतिको निर्धारित सीमाभित्रको रकम बीमा कम्पनीले व्यहोर्ने व्यवस्था गर्न सकिन्छ। बीमा कम्पनीले पनि आफ्नो जोखिमको ठूलो अंश अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमा हस्तान्तरण गर्न सक्छ।
यसरी जोखिम हस्तान्तरणको शृंखला विकसित हुन्छः
- सम्पत्ति मालिक/सरकार/आयोजना
- बीमा खरिद गर्ने र प्रिमियम तिर्ने
- स्थानीय बीमा कम्पनी
- बीमा पोलिसी जारी गर्ने र क्लेमको दायित्व लिने
- पुनर्बीमा कम्पनी/अन्तर्राष्ट्रिय पुनर्बीमा बजार
- ठूलो जोखिमको हिस्सा स्वीकार गर्ने
- विश्वव्यापी जोखिम पुँजी बजार
- क्याटास्ट्रोफ बन्ड, वैकल्पिक जोखिम पुँजी
यस प्रक्रियाबाट नेपालमा हुने विपद्को आर्थिक भार केवल देशको बजेट, स्थानीय बीमा कम्पनी वा आयोजना सञ्चालकमा सीमित नरही अन्तर्राष्ट्रिय जोखिम वहन गर्ने बजारसम्म वितरण गर्न सकिन्छ।
३.२ बीमा, पुनर्बीमा र क्याटास्ट्रोफ बन्ड
बीमा
बीमा कम्पनीले ग्राहकको निर्धारित सम्पत्ति वा जोखिमको क्षति सम्झौताअनुसार व्यहोर्छ।
पुनर्बीमा
बीमा कम्पनीले आफ्नो जोखिमको केही हिस्सा अर्को ठूलो पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्छ।
विपद् बन्ड
लगानीकर्ताको पुँजीबाट विपद् जोखिमका लागि वित्तीय सुरक्षा सिर्जना गरिन्छ।
प्यारामेट्रिक बीमा
वर्षा, नदीको बहाव, भूकम्पको तीव्रता वा अन्य पूर्वनिर्धारित सूचक पुगेपछि भुक्तानी हुने बीमा।
यी चारवटा साधनको उद्देश्य एउटै भए पनि कार्यप्रणाली फरक हुन्छ। परम्परागत बीमा वास्तविक क्षतिको मूल्यांकनपछि भुक्तानी गर्छ भने प्यारामेट्रिक बीमाले पूर्वनिर्धारित मापदण्ड पुगेपछि भुक्तानी गर्न सक्छ। क्याटास्ट्रोफ बन्ड भने विपद् जोखिमलाई पुँजी बजारका लगानीकर्तासँग जोड्ने माध्यम हो।
४. नेपालका लागि प्रस्तावित विपद् जोखिम बीमा प्रणाली
नेपालले विपद् जोखिम बीमालाई केवल निजी सम्पत्ति वा उद्योगको बीमामा सीमित नराखी राष्ट्रिय वित्तीय सुरक्षा रणनीतिको अभिन्न अंग बनाउनुपर्छ। यसका लागि तीन तहमा प्रणाली विकास गर्न सकिन्छ।
४.१ पहिलो तहः सार्वजनिक तथा महत्वपूर्ण पूर्वाधारको बीमा
सरकारले राष्ट्रिय महत्वका सम्पत्तिहरुको व्यवस्थित सूची तयार गरी जोखिमअनुसार बीमा गर्नुपर्छ।
प्राथमिकता दिनुपर्ने सम्पत्तिहरुः
- जलविद्युत् आयोजना, बाँध, इन्टेक तथा पावरहाउस।
- राष्ट्रिय तथा रणनीतिक सडक र पुल।
- विमानस्थल तथा प्रमुख यातायात संरचना।
- सरकारी अस्पताल, विद्यालय तथा सार्वजनिक भवन।
- खानेपानी आयोजना तथा ढल प्रणाली।
- विद्युत् प्रसारण लाइन तथा सबस्टेसन।
- नदी तटबन्ध, सुरक्षात्मक संरचना र अन्य महत्वपूर्ण सार्वजनिक सम्पत्ति।
यसका लागि सम्पत्तिको मूल्य, भौगोलिक अवस्थिति, जोखिम क्षेत्र, निर्माण गुणस्तर, पुनर्निर्माण लागत तथा सम्भावित क्षतिको मूल्यांकन गरी राष्ट्रिय सार्वजनिक सम्पत्ति बीमा रजिस्टर तयार गर्नुपर्छ।
४.२ दोस्रो तहः स्थानीय तथा प्रदेशस्तरीय विपद् बीमा
स्थानीय तह र प्रदेश सरकारसँग रहेका सार्वजनिक सम्पत्तिहरुको बीमा गर्न सामूहिक बीमा प्रणाली विकास गर्न सकिन्छ।
एउटै पालिकाले ठूलो प्रिमियम तिर्न कठिन हुन सक्छ। तर, धेरै स्थानीय तहले सम्पत्ति तथा जोखिम एकीकृत गरी सामूहिक बीमा प्रणालीमा प्रवेश गरेमा बीमा लागत घटाउने, जोखिम विविधीकरण गर्ने र बीमा पहुँच बढाउने सम्भावना हुन्छ।
यस प्रणालीबाट स्थानीय सडक तथा पुल, स्वास्थ्य संस्था तथा विद्यालय, खानेपानी आयोजना, दमकल तथा उद्धार उपकरण सार्वजनिक भवन तथा स्थानीय पूर्वाधारको बीमा गर्न सकिन्छ।
४.३ तेस्रो तहः राष्ट्रिय विपद् जोखिम पुल
नेपाल सरकारले राष्ट्रिय विपद् जोखिम पुल स्थापना वा विकसित गर्न सक्छ। यसमा संघ, प्रदेश, स्थानीय तह, सार्वजनिक संस्थान तथा आवश्यकताअनुसार निजी क्षेत्र सहभागी हुन सक्छन्। जोखिमको एकीकृत मूल्यांकन, सामूहिक प्रिमियम व्यवस्थापन, पुनर्बीमा खरिद तथा अन्तर्राष्ट्रिय जोखिम हस्तान्तरणका लागि यस्तो पूल उपयोगी हुन सक्छ।
राष्ट्रिय जोखिम पुलबाट निम्न कार्य गर्न सकिन्छः
- देशभरका विभिन्न जोखिमलाई एकीकृत गर्ने।
- बीमा प्रिमियमको लागत र जोखिम वितरणको दक्षता सुधार गर्ने।
- अन्तर्राष्ट्रिय पुनर्बीमा बजारसँग सामूहिक रुपमा सम्झौता गर्ने।
- विपद् हुँदा छिटो वित्तीय स्रोत उपलब्ध गराउने।
- स्थानीय तथा प्रदेश सरकारको वित्तीय भार कम गर्ने।
- जोखिम तथ्यांक, बीमा मूल्यांकन तथा क्षति विश्लेषणको राष्ट्रिय प्रणाली विकास गर्ने।
५. अन्तर्राष्ट्रिय अभ्यास तथा विभिन्न देशको अनुभव
नेपालले विपद् जोखिम बीमा प्रणाली विकास गर्दा विभिन्न देश तथा क्षेत्रीय संस्थाहरुको अभ्यासबाट सिक्न सक्छ। अन्तर्राष्ट्रिय अभ्यासमा सरकार आफैँले सम्पूर्ण जोखिम व्यहोर्नेभन्दा बीमा, पुनर्बीमा, जोखिम पुल, विपद् बन्ड, पूर्वनिर्धारित वित्तीय सुविधा तथा सरकारी कोषको मिश्रित प्रणाली अपनाउने गरेको पाइन्छ।
अमेरिकी देशहरुले क्षेत्रीय विपद् जोखिम बीमा पुलमार्फत भूकम्प, आँधी तथा अत्यधिक वर्षाजस्ता जोखिमको वित्तीय सुरक्षा लिने गरेका छन्। प्यारामेट्रिक बीमामा आधारित यो प्रणालीले विपद्पछि छिटो वित्तीय सहायता उपलब्ध गराउने उद्देश्य राख्छ।
५.२ अफ्रिका– अफ्रिकन रिस्क क्यापासिटी (एआरसी)
अफ्रिकी देशहरुले खडेरी, बाढी तथा अन्य जलवायु जोखिमबाट आर्थिक सुरक्षा प्राप्त गर्न क्षेत्रीय जोखिम पूल प्रयोग गर्छन्। जोखिम विश्लेषण, मौसमसम्बन्धी तथ्यांक, पूर्वनिर्धारित बीमा र विपद्पछि वित्तीय भुक्तानीलाई एकीकृत गर्ने अभ्यास महत्वपूर्ण छ।
५.३ प्रशान्त क्षेत्र– पीसीआरआईसी
प्यासफिक क्याटास्ट्रोफ रिस्क इन्स्योरेन्स कम्पनी ( पीसीआरआईसी) ले प्रशान्त क्षेत्रका देशहरुलाई भूकम्प, चक्रवात तथा अन्य प्राकृतिक विपद् जोखिमका लागि बीमा सुविधा उपलब्ध गराउने क्षेत्रीय प्रणाली विकास गरेको छ।
५.४ दक्षिणपूर्वी एसिया– एसईएडीआरआईएफ
दक्षिणपूर्वी एसियाका देशहरुमा बाढी तथा अन्य विपद् जोखिमको वित्तीय व्यवस्थापनका लागि क्षेत्रीय जोखिम पुल र बीमा संयन्त्र विकसित गरिएको छ। यसको विशेषता जोखिम साझेदारी, संस्थागत सहयोग र पूर्वनिर्धारित भुक्तानी प्रणाली हो।
५.५ टर्की– डीएएसके
टर्कीले भूकम्प जोखिमका लागि अनिवार्य भूकम्प बीमा प्रणाली विकास गरेको छ। आवासीय भवनहरुको भूकम्प जोखिम बीमा, संस्थागत व्यवस्थापन र जोखिम वितरणको प्रणालीले भूकम्प जोखिम उच्च भएका देशहरुका लागि महत्वपूर्ण सिकाइ प्रदान गर्छ। नेपालमा आवासीय र सार्वजनिक भवनको भूकम्प बीमा विस्तार गर्दा यस्तो अभ्यास अध्ययन गर्न सकिन्छ।
अन्तर्राष्ट्रिय जोखिम पुलहरुले विभिन्न देशको जोखिम एकीकृत गरी जोखिम विविधीकरण, प्राविधिक क्षमता, सञ्चालन खर्च तथा पुँजीको लागतमा दक्षता हासिल गर्न मद्दत गर्छन्। सीसीआरआईएफ, एआरसी, पीसीआरआईसी र एसईएडीआरआईएफजस्ता प्रणालीले नेपालका लागि क्षेत्रीय वा बहुपक्षीय जोखिम साझेदारीको सम्भावना देखाउँछन्।
५.६ विश्व बैंकमार्फत विपद् जोखिम हस्तान्तरण
विश्व बैंकको ट्रेजरीले सरकारहरुसँग मिलेर बीमा, पुनर्बीमा, डेरिभेटिभ तथा क्याटास्ट्रोफ बन्डजस्ता जोखिम हस्तान्तरणका वित्तीय समाधानहरु विकास र कार्यान्वयन गर्न सहयोग गर्दछ।
यस प्रणालीमा सरकारले विश्व बैंकसँग पूर्वनिर्धारित विपद् वित्तीय सम्झौता गर्न सक्छ। विश्व बैंकले आवश्यकताअनुसार जोखिम अन्तर्राष्ट्रिय बीमा वा पुँजी बजारमा हस्तान्तरण गर्न सक्छ। विपद् हुँदा सम्झौताअनुसार सरकारलाई भुक्तानी प्राप्त हुने संरचना बनाइन्छ। यस्तो प्रणालीमा जोखिम हस्तान्तरण गर्दा सरकारले प्रत्यक्ष रुपमा धेरै अन्तर्राष्ट्रिय प्रतिपक्षसँग कारोबार गर्नुपर्ने जटिलता कम हुन सक्छ।
५.७ नेपालमा अन्तर्राष्ट्रिय अभ्यासको वास्तविक सम्भावना
नेपालले यी अभ्यासबाट निम्न उपाय क्रमशः लागू गर्न सक्छः
- सार्वजनिक सम्पत्तिका लागि राष्ट्रिय बीमा कार्यक्रम।
- प्रदेश तथा स्थानीय तहको सामूहिक बीमा।
- राष्ट्रिय विपद् जोखिम पुल।
- अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमा जोखिम हस्तान्तरण।
- भूकम्प तथा बाढीका लागि प्यारामेट्रिक बीमा।
- राष्ट्रियस्तरको क्याटास्ट्रोफ बन्ड जारी गर्ने सम्भाव्यता अध्ययन।
- विश्व बैंक, एडीबी, यूएनडीपी तथा अन्य विकास साझेदारसँग वित्तीय र प्राविधिक सहकार्य।
६. नेपालमा प्रिमियम भुक्तानी तथा अन्तर्राष्ट्रिय क्लेम गर्ने प्रणाली
विपद् बीमा प्रणाली सफल हुन प्रिमियम कसले तिर्ने, बीमा कहाँ गर्ने, जोखिम कसरी मूल्यांकन गर्ने र विपद् हुँदा क्लेम कसरी प्राप्त गर्ने भन्ने कुरा स्पष्ट हुनुपर्छ।
६.१ प्रिमियम भुक्तानीको व्यवस्था
सरकारले राष्ट्रिय विपद् बीमा कार्यक्रमअन्तर्गत वार्षिक बजेटमा प्रिमियमका लागि छुट्टै रकम विनियोजन गर्न सक्छ।
प्रिमियम भुक्तानीका सम्भावित स्रोतहरुः
- क्षेत्र प्रिमियमको सम्भावित स्रोत
- संघीय सरकारका सम्पत्ति संघीय बजेट तथा सम्बन्धित मन्त्रालय
- प्रदेश सरकारका संरचना प्रदेश बजेट
- ؘ स्थानीय सरकारका संरचना स्थानीय बजेट तथा साझा बीमा कार्यक्रम
- जलविद्युत् आयोजना आयोजना सञ्चालक, कम्पनी तथा परियोजना वित्तीय संरचना
- निजी उद्योग तथा व्यवसाय व्यवसायी वा सम्पत्ति मालिक
- सामुदायिक सम्पत्ति सरकारी अनुदान, समुदायको योगदान वा मिश्रित स्रोत
- विशेष विपद् जोखिम सरकार, विकास साझेदार तथा जोखिम वित्तीय कार्यक्रम
सार्वजनिक सम्पत्तिको बीमा प्रिमियमलाई सामान्य प्रशासनिक खर्चका रुपमा नभई पूर्वाधार संरक्षण तथा वित्तीय जोखिम व्यवस्थापनको लगानीका रुपमा लिनुपर्छ।
६.२ बीमा प्रिमियम निर्धारणको आधार
प्रिमियम निर्धारण गर्दा निम्न आधारहरु प्रयोग गर्न सकिन्छः
- सम्पत्तिको प्रतिस्थापन मूल्य
- जोखिमको भौगोलिक अवस्था।
- नदी बहाव, वर्षा तथा बाढीको ऐतिहासिक विवरण।
- पहिरो तथा भूक्षय जोखिम।
- भूकम्पीय जोखिम।
- निर्माण गुणस्तर र संरचनात्मक सुरक्षा।
- सम्भावित क्षतिको अधिकतम सीमा।
- बीमाको अवधि तथा जोखिम वहन गर्ने सीमा।
- पुनर्बीमा लागत तथा अन्तर्राष्ट्रिय बजारको दर।
- जोखिम न्यूनीकरणमा गरिएको लगानी।
६.४ क्लेमका लागि आवश्यक प्रमाण
क्लेम प्रक्रियालाई प्रभावकारी बनाउन डिजिटल प्रणाली विकास गर्नुपर्छ। यसमा निम्न विषय समेट्न सकिन्छः
- विपद् घटनाको आधिकारिक मिति र समय।
- प्रभावित क्षेत्रको जीपीएस लोकेसन।
- क्षति भएका संरचनाको फोटो तथा भिडियो।
- ड्रोन सर्वेक्षण तथा स्याटेलाइट इमेज।
- नदीको जलस्तर, वर्षा र बहावको तथ्यांक।
- भूगर्भीय तथा मौसमसम्बन्धी रिपोर्ट।
- सम्पत्ति मूल्यांकन तथा निर्माण लागत विवरण।
- प्राविधिक निरीक्षण रिपोर्ट।
- बीमा पोलिसी र प्रिमियम भुक्तानी विवरण।
- क्षति तथा पुनर्निर्माण लागतको प्रमाण।
७. राष्ट्रिय विपद् जोखिम वित्तीय संरचना
नेपालले विपद् वित्तीय व्यवस्थापनमा सबै प्रकारका जोखिमका लागि एउटै साधन प्रयोग गर्नु उचित हुँदैन। साना, बारम्बार हुने घटनादेखि अत्यन्त ठूलो र दुर्लभ विपद्सम्म फरक वित्तीय तहको आवश्यकता हुन्छ।
यसका लागि रिस्क लियरिङ (जोखिम तहगत वित्तीय व्यवस्थापन) अपनाउनु उपयुक्त हुन्छ।
नेपालका लागि प्रस्तावित जोखिम तहगत वित्तीय मोडेल
तह १ — सामान्य तथा साना विपद्
- सरकारी कोष, स्थानीय बजेट, आकस्मिक कोष
- बारम्बार हुने साना क्षति, स्थानीय राहत तथा मर्मत
तह २ — मध्यम आकारका विपद्
- आकस्मिक ऋण, विपद् कोष तथा सार्वजनिक बीमा
- मध्यम बाढी, पहिरो, पूर्वाधार क्षति तथा पुनर्स्थापना
तह ३ — ठूलो विपद्
- बीमा, पुनर्बीमा तथा राष्ट्रिय जोखिम पुल
- ठूलो बाढी, व्यापक संरचनात्मक क्षति, जलविद्युत् आयोजना तथा पुल क्षति
तह ४ — अत्यन्त ठूलो वा विनाशकारी विपद्
- अन्तर्राष्ट्रिय पुनर्बीमा, क्याटास्ट्रोफ बन्ड, जोखिम पुँजी बजार तथा बहुपक्षीय सहायता
- विनाशकारी भूकम्प, व्यापक बाढी, राष्ट्रिय स्तरको विपद् वा असाधारण आर्थिक क्षति
यो प्रणालीले प्रत्येक विपद्का लागि सरकारको बजेट, बीमा बजार, पुनर्बीमा तथा अन्तर्राष्ट्रिय पुँजी बजारलाई व्यवस्थित रुपमा प्रयोग गर्न सक्छ।
विश्व बैंक तथा अन्य वित्तीय संस्थाहरुले पनि साना र बारम्बार हुने घटनामा सरकारी कोष, मध्यम घटनामा आकस्मिक ऋण तथा बीमा र अत्यन्त ठूलो जोखिममा पुनर्बीमा तथा क्याटास्ट्रोफ बन्डजस्ता साधन प्रयोग गर्ने तहगत दृष्टिकोणलाई समर्थन गरेका छन्।
८. नेपालमा कार्यान्वयनका लागि नीतिगत तथा संस्थागत सुधार
यस प्रणालीलाई सफल बनाउन केवल बीमा खरिद गरेर पुग्दैन। संस्थागत, कानुनी, प्राविधिक तथा वित्तीय सुधार पनि आवश्यक हुन्छ।
८.१ राष्ट्रिय विपद् जोखिम बीमा नीति
सरकारले राष्ट्रिय विपद् जोखिम बीमा तथा वित्तीय हस्तान्तरण नीति जारी गरी सार्वजनिक सम्पत्ति, निजी पूर्वाधार, समुदाय तथा नागरिकको वित्तीय सुरक्षा सम्बन्धी स्पष्ट व्यवस्था गर्नुपर्छ।
८.२ राष्ट्रिय सार्वजनिक सम्पत्ति र जोखिम अभिलेख
देशभरका सरकारी तथा सार्वजनिक पूर्वाधारको डिजिटल अभिलेख निर्माण गर्नुपर्छ। यसमा निम्न विषय समेट्नुपर्छः
- सम्पत्तिको नाम र स्वामित्व।
- भौगोलिक अवस्थिति।
- निर्माण लागत तथा पुनर्निर्माण मूल्य।
- जोखिम वर्गीकरण।
- बीमा स्थिति।
- बीमा रकम र प्रिमियम।
- क्षति तथा क्लेमको इतिहास।
८.३ बीमा तथा पुनर्बीमा बजारको क्षमता विस्तार
नेपालका बीमा कम्पनीहरुलाई ठूला विपद् जोखिम वहन गर्न आवश्यक पुँजी, जोखिम मोडेल, पुनर्बीमा पहुँच तथा प्राविधिक दक्षता विकास गर्न प्रोत्साहन गर्नुपर्छ। ठूलो जोखिमको हिस्सा अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमा हस्तान्तरण गर्न आवश्यक नियामकीय तथा संस्थागत व्यवस्था सहज बनाउनुपर्छ।
क) सरकार, बीमा कम्पनी, जलविद्युत् प्रवर्द्धक, बैंक, निर्माण कम्पनी, पुनर्बीमा कम्पनी तथा विकास साझेदारहरुबीच सहकार्यको संरचना विकास गर्नुपर्छ।
ख) बीमा सुविधा प्राप्त गर्न संरचनागत सुरक्षा, वातावरणीय अध्ययन, जोखिम न्यूनीकरण, नियमित निरीक्षण तथा विपद् पूर्वतयारीलाई प्राथमिकता दिनुपर्छ।
ग) जोखिम न्यूनीकरणमा लगानी गर्ने आयोजना तथा संस्थालाई प्रिमियममा छुट दिन सकिन्छ। यसले बीमा प्रणालीलाई केवल क्षति भुक्तानी गर्ने माध्यम नभई सुरक्षित पूर्वाधार निर्माणलाई प्रोत्साहन गर्ने साधन बनाउन मद्दत गर्छ।
आर्थिक फाइदाहरु
- विपद् हुँदा तत्काल वित्तीय स्रोत प्राप्त गर्न सकिने।
- सरकारी बजेटमाथिको अचानक दबाब घट्ने।
- विकास आयोजनाको निरन्तरता कायम गर्न मद्दत पुग्ने।
- सार्वजनिक ऋण तथा वित्तीय घाटाको दबाब कम गर्न सकिने।
- निजी क्षेत्र तथा विदेशी लगानीकर्ताको विश्वास बढ्ने।
- पुनर्निर्माण कार्य छिटो सुरु गर्न सकिने।
- पूर्वाधारको वित्तीय स्थायित्व सुधार हुने।
- अन्तर्राष्ट्रिय बीमा तथा पुनर्बीमा बजारबाट पुँजी परिचालन हुने।
बीमा प्रिमियमलाई केवल खर्चका रुपमा नभई जोखिम व्यवस्थापन, वित्तीय स्थिरता तथा पूर्वाधार संरक्षणका लागि गरिने रणनीतिक लगानीका रुपमा बुझ्न आवश्यक छ।
९. निष्कर्ष
नेपालमा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि, अत्यधिक वर्षा, हिमताल विस्फोट, बाढी, पहिरो, भूकम्प तथा नदी कटानबाट हुने क्षति भविष्यमा अझ ठूलो आर्थिक चुनौती बन्न सक्ने देखिन्छ। यस्ता विपद्ले नागरिकको जीवन र सम्पत्तिमात्र नभएर राष्ट्रिय अर्थतन्त्र, सार्वजनिक पूर्वाधार, जलविद्युत् उत्पादन, यातायात, पर्यटन, कृषि, बैंकिङ तथा विकास योजनामा समेत गम्भीर असर पार्न सक्छ।
विपद् भएपछि सरकारले राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका लागि ठूलो वित्तीय स्रोत जुटाउनुपर्ने वर्तमान अभ्यास दीर्घकालीन रुपमा पर्याप्त र दिगो नहुन सक्छ। त्यसैले नेपालले विपद् हुनुअघि नै आर्थिक जोखिमको मूल्यांकन गरी बीमा, पुनर्बीमा, राष्ट्रिय जोखिम पूल, प्यारामेट्रिक बीमा, क्याटास्ट्रोफ बन्ड तथा अन्तर्राष्ट्रिय जोखिम हस्तान्तरणका संयन्त्र विकास गर्न आवश्यक छ।
विशेषगरी जलविद्युत् आयोजना, सडक, पुल, सरकारी अस्पताल, विद्यालय, खानेपानी तथा अन्य सार्वजनिक पूर्वाधारको व्यवस्थित बीमा गरी वार्षिक प्रिमियम भुक्तानी गर्ने र विपद् घटेपछि सम्झौताअनुसार छिटो क्लेम प्राप्त गर्ने प्रणाली विकास गर्न सकेमा सरकारको वित्तीय दायित्व कम गर्न, पुनर्निर्माण छिटो गर्न तथा विकास आयोजनाको निरन्तरता कायम गर्न मद्दत पुग्नेछ।
नेपालले अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्दै संघ, प्रदेश, स्थानीय तह, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, निजी क्षेत्र, विश्व बैंक, एडीबी, संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्य विकास साझेदारको सहभागितामा राष्ट्रिय विपद् जोखिम वित्तीय संरचना विकास गर्नुपर्छ। यस्तो प्रणालीमा सरकारी कोष, बीमा, आकस्मिक वित्तीय सुविधा, पुनर्बीमा र अन्तर्राष्ट्रिय पुँजी बजारलाई समन्वित रुपमा प्रयोग गर्न सकिन्छ।
नेपालका लागि अबको प्राथमिकता विपद्पछि सहायता खोज्ने प्रणालीबाट विपद् हुनुअघि नै वित्तीय सुरक्षा सुनिश्चित गर्ने प्रणालीमा रुपान्तरण हुनु हो।
यस प्रकारको पूर्वनिर्धारित बीमा तथा जोखिम हस्तान्तरण प्रणालीले नेपाललाई विपद् प्रतिरोधी, वित्तीय रुपमा सक्षम, पूर्वाधारको संरक्षण गर्न सक्ने तथा दीर्घकालीन विकासमा स्थिरता कायम गर्ने राष्ट्र बनाउन महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
(लेखक खनाल आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका वरिष्ठ प्रबन्धक हुन्।)











